प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन् : नेता नेपाल

 

मोरङ, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाभित्र तमासा गर्ने एकमात्र व्यक्ति केपी शर्मा ओली भएको आरोप लगाउनुभएको छ ।

विराटनगरमा आयोजित आफ्नो समूहको विरोध सभालाई सम्बोधन गर्दै नेपालले संविधानमाथि घात गर्ने काम ओलीले गरेको बताउनुभएको हो । नागरिकको त्याग र बलिदानबाट आएको संविधानको घाँटी रेट्ने काम केपी ओलीबाट भएको नेता नेपालको भनाइ छ । 

‘आफूलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीलाई नमान्ने एकमात्र पार्टीभित्रको तमासा गर्ने व्यक्ति केपी ओली हुन्’, उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीमा कोही व्यक्ति सुप्रिम हुँदैन, आफुलाई पार्टीभन्दा माथि ठान्छ भने त्यो व्यक्ति कम्युनिस्टको नेता हुन सक्दैन, त्यो व्यक्ति तानाशाह हुन्छ ।’

केपी ओली ओरालो लागिसकेको व्यक्तिको पछि लाग्ने ओलीका मान्छेका अनुहार मलिन हुँदै गएको, ओली गुटमा लागेका व्यक्तिहरू शोक, बेहाल, बिजोग र घर न घाटको अवस्थामा पुगेको नेता नेपालको भनाइ छ । ‘प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली पछारिएपछि पनि खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन्’, नेपालले भन्नुभयो, यस्तो अवस्थामा उनको गुटमा भएका केही व्यक्तिहरू बेहाल अवस्थामा छन् ।’

वकिल, पूर्वप्रधानन्यायाधीश, पत्रकार, नागरिक समाजलाई, सबैलाई ओलीले अपमान गरेको उहाँको आरोप छ । कम्युनिस्टहरू संस्कार बोकेर हिँड्ने, सबैलाई सम्मान गर्ने पार्टी भएकाले आफूहरूले सबैलाई इज्जत र प्रतिष्ठा गर्ने तर ओलीले अपमानमात्र गरेको नेता नेपालको भनाइ छ ।

कम्युनिस्ट पार्टी, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक र समावेशितासँग ओलीलाई एलर्जी भएका कारण त्यसलाई बिगार्ने काम ओलीले गरेको तर आफूहरूले बनाउँदै गएको नेपालले बताउनुभयो ।

‘पूर्वएमाले र पूर्वमाओवादी सकिएको अवस्थामा पनि ओलीले एमाले–एमाले भन्दै आएका छन्, एक भएको अवस्थामा अहिले कहाँबाट एमालेको कुरा आयो रु’ नेता नेपालको प्रश्न छ । उहाँले सूर्य चिह्न आफ्नै हुने दाबी गर्नुभयो ।  

0/प्रतिक्रिया

Previous Post Next Post