चिसोमा किन चिलाउँछ गर्भवतीको शरीर ?

 

डा कीर्तिपाल सुवेदी


गर्भावस्था एक संवेदनशील अवस्था हो । गर्भावस्थामा गरिने सानो हेलचेक्र्याइँले आमा र शिशु दुवै जोखिममा पर्न सक्छन् । गर्भवती महिला चिसोले प्रभाव पार्ने समूहमा पर्छन् । चिसो मौसममा गर्भवतीलाई सताउने विभिन्न समस्यामध्ये एक हो, शरीर चिलाउने समस्या । जसलाई चिकित्सकीय भाषामा ‘अब्सट्रेसटक्स कोलेसटेसिस’ भनिन्छ ।

सबैलाई यो समस्या नभए पनि केहीलाई हुन्छ। विशेषगरी गर्भवती भएको ६ महिनापछि केहीमा शरीर चिलाउने समस्या सुरु हुन थाल्छ । यस्तो समस्या हुँदा शरीरमा बिबिरा, फोका या कुनै दाग देखिँदैन तर शरीर बेस्सरी चिलाउँछ। हातखुट्टा, पेट र पैताला बढी चिलाए या समस्या बढ्दै गए आमालाई भन्दा पनि बच्चालाई असर गर्न सक्छ । चिसो मौसममा गर्भवतीमा हुने यो जटिल समस्या हो ।

सामान्यतयाः कलेजोले बायल एसिडलाई पित्त बनाएर फाल्छ । तर यो समस्या भएकाहरुमा कलेजोले बायल एसिडलाई फाल्न सक्दैन । बायल एसिड आमाको शरीरमा जम्मा भएर बस्छ। जसले गर्दा शरीरमा चिलाउने समस्या हुन्छ ।
यो समस्या बढ्दै जाँदा आमाको कलेजोमा असर गर्न सक्छ भने बच्चा पेटमै खेर पनि जान सक्छ । बच्चामा अक्सिजनको कमी हुनसक्छ । आमाको पेटमै बच्चाले दिसा गर्न पनि सक्ने भएकाले बच्चालाई संक्रमणको जोखिम हुन्छ ।

समय नपुग्दै शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्ने अवस्था पनि आउन सक्छ । जाडोमा शरीर सुख्खा हुने, पानीको मात्रा कम हुने भएकाले छाला सुख्खा भई चिलाउँछ । त्यसैले गर्भवतीले विशेष ध्यान पु¥याउनुपर्छ। पानी प्रशस्त मात्रा पिउने, छालालाई सुख्खा हुन नदिने, मोस्चराइजको नियमित प्रयोग गर्नुपर्छ ।
चिलाउने रोगको समस्या यही उपचार गरेर निको हुन्छ भन्ने हुँदैन किनभने गर्भवती भएकै कारण हो या छाला सम्बन्धी रोगले शरीर चिलाएको हो भन्ने समस्याको पहिचान गर्नुपर्छ ।

गर्भवतीमा चिलाउने समस्या देखिए तुरुन्त चिकित्सकको परामर्शमा जानुपर्छ । समस्या पहिचान भएपछि मात्र यसको उपचार हुन्छ। यदि कलेजोको कारणले चिलाउने समस्या भएको हो भने त्यही अनुसारको उपचार गर्नुपर्छ । तर औषधिको प्रयोगले पनि चिलाउने समस्या निको नभए ९ महिना नपुग्दै पनि बच्चा निकाल्नुपर्ने हुन्छ ।
यदि यो समस्या गर्भवती भएकै कारणले हो भने शिशुको जन्मपछि आफैं निको समेत भएर जान्छ । गर्भवतीमा चिलाउने समस्या देखिए यसलाई सामान्य रुपमा लिनु हुँदैन ।

तत्काल अस्पताल जानुपर्छ किनभने यो समस्या बढ्दै गए आमा र शिशु दुवैलाई असर गर्छ ।
चिलाउने समस्या बढ्दै जाँदा पनि औषधिको प्रयोग नगर्ने र चिकित्सकको परामर्शमा नजाँदा पेटमा रहेको शिशुलाई असर गर्छ । शिशुमा अक्सिजनको कमी भएपछि पेटमै शिशुको मृत्यु पनि हुन सक्छ । नेपालमा यो आम समस्याको रुपमा छ।

यसको यकिन कारण नभए पनि चिसोमा यो समस्याले बढी सताउँछ । त्यसैले यसलाई हेलचेक्र्याइँ नगरी समस्या देखिनासाथ अस्पताल जानुपर्छ ।

(डा सुवेदी प्रसूति गृहका सिनियर कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट हुन् ।)


SHARE THIS