खोजी मिस्टर एन्ड मिस रौनियारको

 

काठमाडौं, पुस २४ । नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण घटेपछि विभिन्न कार्यक्रमहरू हुन थालेका हुन् । यसै क्रममा विगत एक वर्षदेखि रोकिएको मिस्टर एन्ड मिस रौनियार सौन्दर्य एवं सांस्कृतिक प्रतियोगिता पनि अब हुने भएको छ ।
आयोजक संस्था एमी इन्टरटेन्मेन्टले पत्रकार भेटघाट आयोजना गर्दै यो प्रतियोगिताको तयारीमा आफूहरू जुटेको जनाएको छ । संस्थाका अध्यक्ष एमी (राजन) रौनियारका अनुसार यो दोस्रो संस्करण हो ।

रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन तथा रौनियार युवा युवतीहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसँगै उनीहरूको सामाजिक दायारलाई अझ विस्तार गर्न (मिस्टर एन्ड मिस रौनियार–२०२१) को आयोजना गर्न लागिएको राजनले बताए ।

यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार र गुप्ता समुदायका युवा युवतीले यो प्रतियोगितामा भाग लिन पाउने र उनीहरूको उमेर १६ देखि २८ वर्षभित्रको हुनुपर्ने पनि अध्यक्ष राजनले बताएका छन् । यो प्रतियोगितामा काठमाडौंबाट भाग लिन चाहनेले १७ माघसम्म फारम भरिसक्नुपर्नेछ । यो प्रतियोगिताको लागि ३ माघमा जनकपुर, १० माघमा वीरगन्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको पनि कार्यक्रम व्यवस्थापक एनी रौनियारले पत्रकार भेटघाटका क्रममा जानकारी गराइन् ।

यो प्रतियोगितामा गत वर्ष आशिष रौनियार र प्रिया रौनियारले मिस्टर एन्ड मिस रौनियार २०१९ को उपाधि जितेका थिए । मिस्टर एन्ड मिस रौनियारको विजेताले विभिन्न उपाधि, पुरस्कारसहित म्युजिक भिडियो, विज्ञापनमा मोडलिङलगायत अन्य अवसर प्राप्त गर्ने पनि पत्रकार भेटघाटका क्रममा बताइयो । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दै छन् भने फाइनल इभेन्ट फागुनको तेस्रो साता काठमाडौंमा हुनेछ ।


SHARE THIS