प्रधानमन्त्रीले अदालत र कानून व्यावसायीको अपमान गरेकोभन्दै उनीविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

 

काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका थिए । आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो ।

त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए । २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध उनले मुद्दा हालेका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए ।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो । ‘खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ’, निवेदनमा भनिएको छ ।


SHARE THIS