मोटरसाइकल चोरेको आरोपमा काठमाण्डौबाट दुई जना पक्राउ

 

  काठमाण्डौ, पुस २१ । काठमाडौको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष थापा मगर र बालाजुबाट दोलखा भीमेश्वर नगरपालिका ३ घर भएका काठमाण्डौ रानीवन बस्ने रोशन लामिछानेलाई पक्राउ गरेको हो ।

आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रङ्गको २२० सी।सी।को पल्सर मोटरसाइकल र रोशन लामिछानेलाई वाग्मती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रङ्गको २२० सी।सी। को पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाले यो महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि समातेको छ । चोरीमा संलग्न ११ जनालाई पक्राउ गरी मुद्दा समेत चलाइएको छ ।


SHARE THIS