जुम्लाको गोठी गाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट

 

जुम्ला, माघ १४ । जुम्लाको गोठी गाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् ।जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा गएराति आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।

आगलागिमा पशु चौपाया पनि जलेर मरेका छन् । सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो । चौलागाईंका अनुसार आगलागी भएको गाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।

आगलागीमा के कति क्षति भएको छ भन्ने यकिन विवरण आउन बाँकी रहेको र घटनास्थलतर्फ नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।काठैकाठका घरहरु बढी भएकाले आगलागी बढेको आशंका गरिएको छ ।


SHARE THIS