आयोगले बोलाएकाे छलफलमा सहभागी नभई पत्र बुझाएर फर्कियो प्रचण्ड–माधव समूह

 



काठमाडौं, माघ १६ ।  निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव समूह छलफलमा सहभागी नभई पत्र बुझाएर निर्वाचन आयोगबाट फर्किएको छ।

आफ्नो समूहका दुवै अध्यक्ष काठमाडौंबाहिर रहेको र माघ १८ अघि आयोगमा उपस्थित हुन नसक्ने पत्र बुझाएर फर्किएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। 

यो समूहको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरी आयोगमा पठाइएको पत्रमा ‘माधवकुमार नेपाल र पुष्पकमल दाहाल दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनुभएको हुँदा आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको’ जानकारी गराइएको छ।

माघ १८ पश्‍चात् उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न पत्रमा निर्वाचन आयोगसमक्ष अनुरोध गरिएको छ। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। आयोगमा अहिले ओली पक्षका नेताहरुसँग छलफल भइरहेको छ। यस अघि आयोगले दुवै पक्षलाई पत्र लेखेर स्वयं अध्यक्ष वा अध्यक्षले तोकेका ५–५ जना प्रतिनिधिलाई आयोगमा छलफलका लागि बोलाएको थियो।

यसअघि दुवै पक्षले आयोगका बुझाएका विवरण अनुसार आयोगले एक पक्षलाई वैधानिकता दिन अस्वीकार गरेको थियो। पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति तोकेपछि नेकपामा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो पक्षलाई आधिकारिक भन्दै विभिन्न निर्णय गर्दै आएका छन्।


SHARE THIS