कुटपिट आरोपमा तरुण दलका कोषाध्यक्ष पक्राउ

विराटनगर, माघ १३ । नेपाली कांग्रेस निकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा उनी सोमबार पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका– २ घर भएका ३९ वर्षीय रिजाल विरुद्ध पुस २२ गते किटानी जाहेरी परेको थियो ।

स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल हिरासतको अवधि अस्पतालमा बस्ने भन्दै प्रहरी कार्यालयमा हाजिर भएका हुन् । कांग्रे भित्र राम्रो पडक राख्ने रिजाल जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएपछि कोशी अस्पताल भर्ना भएका थिए । अस्पतालमै राखेर प्रहरीले पाँच दिनको म्याद पनि थप गरेको छ ।

पुस १५ गते रिजालले पेसाले डाक्टर रहेकी बस्नेत थरकी प्रेमिकालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटका कारण प्रेमिकाको दाहिने हातको औला भाँचिएको छ ।

विवाहित रिजाल सम्बन्धविच्छेद गरेर बसेकी ती डाक्टरसँग विवाह गर्ने भनी भन्दै नजिकिएका थिए । पीडित युवतीले पटक पटक गरेर आफ्नो दशलाख रुपैयाँ पनि रिजालले लगेको दावी गरेकी छन् ।

सम्पत्ति देखेर नजिकिएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ‘दशैंयता नजिकिएका उनीहरुबीच पटक पटक विवाद भएको थियो ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मानबहादुर राईले रिजाल पक्राउलगत्तै अस्पताल भर्ना भएको बताए । प्यारालाइसिसको समस्या देखाएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए ।


SHARE THIS