काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

  काठमाण्डौ, माघ ७ ।  काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठन भएको तीन सदस्यीय छनोट समितिको सिफारिसमा कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रध्यापक डाक्टर थापालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ ।

उपकुलपति छनोट गर्न गठित समितिले डा। रामकण्ठ मकाजू, प्रा। डा। भोला थापा र प्रा। डा। बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुङ्गाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहनुभएको थियो ।

काठमाण्डौ विश्वविद्यालय स्थापना भएदेखि यस विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका थापाले यस विश्वविद्यालयमा २७ वर्ष काम गर्नुभएको हो । नवनियुक्त थापा नौ वर्ष डिन र पाँच वर्ष रजिस्ट्रार हुनुभएको थियो ।

पेसामा मेकानिकल इञ्जिनियर उपकुलपति प्रा। डा। थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गर्नुभएको थियो । कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट्न उहाँ मन्त्रालय पुग्नुभएको थियो ।

उपकुलपति नियुक्त भएपछि उहाँले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागिपर्ने बताउनुभयो । उहाँले अहिले देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागिपर्ने बताउँदै त्यसको लागि पूर्वउपकुलपति, प्राध्यापक सङ्घ लगायतसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।  


SHARE THIS