दाङको कोइलाबास नाका सहित देशभरका नाका खुला गर्ने मन्त्रिपरिषदको निर्णय



दाङ, माघ १६ । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागी बन्द गरेको भारतसंग जोडिएको दाङको कोइलाबास नाका खुला गर्ने निर्णय भएको छ । सरकारले गत चैत्र ११ गतेदेखि नेपलामा लकडाउनको घोषणा गरि नेपाल भारत सिमा क्षेत्र प्रवेशद्धारमा आवतजावत गर्न रोक लगाएको थियो ।

बिहिवार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकोमा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय गरेको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् । खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।

कुन–कुन नाका खुले
सरकारले दाङको कोईलाबास नाका सहित भारत संग जोडिएका सवै नाका खुलाएको छ । जसमा पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी मोरङ, माडर सिरहा, गौर रौतहट, वीरगन्ज (पर्सा), रसुवागढी रसुवा, कृष्णनगर (कपिलवस्तु), बेलहिया (रुपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगारपुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ बारा, त्रिवेणी पूर्वी नवलपरासी, महेशपुर पश्चिम नवलपरासी, तौलिहवा कपिलवस्तु, कोइलाबास दाङ, सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक)को नाका खुला गरिएको हो ।


SHARE THIS