प्रचण्डको प्रश्न : छोराछोरीलाई अमेरिका नपठाइ गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो दोष हो ?

  मोरङ, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिक्रियावादी एजेण्टले सार्वभौम संविधानलाई अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । 

विराटनगरमा आफ्नो समूहको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीलाई भष्मासुर भन्दै प्रतिक्रियावादीहरूको एजेण्ट भएर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनुभएको हो । यद्यपि दाहालले प्रतिनिधि सभा विघटन भने नभएको दाबी गर्नुभएको छ । देख्दा विघटन जस्तो देखिए पनि विघटन नभएको दाबी गर्दै दाहालले ७० वर्षदेखि लड्दै आएको लोकतन्त्रवादी र कम्युनिस्ट आन्दोलनको उपलब्धि र नागरिकमाथि आक्रमण भएको आरोप लगाउनुभयो । उहाँले आफूमाथिको आक्रमणलाई प्रतिकार गर्न नागरिकलाई आग्रहसमेत गर्नुभयो । 

नेकपा पार्टी एक गर्ने र एकताको गठबन्धनको प्रस्ताव ल्याउने व्यक्ति आफू भएको पनि दाहालले बताउनुभएको छ । ‘शक्तिशाली पार्टी र समाजवादतर्फ जाऔँ भनेर भन्ने व्यक्ति म आफै हो, उहाँले भन्नुभयो, तीन वर्ष नहुँदै प्रतिगमन र प्रतिक्रान्तिको काम भएको छ, अहिले मलाई नागरिकको अघि भन्न पनि लाज लागेको छ ।’

चुनावी अभियानका बेला छोराको निधन भएको सम्झिँदै दाहालले देशलाई समाजवादको दिशामा लगेर अहिलेका युवायुवतीलाई उज्यालो पार्ने आफ्नो सपना रहेको बताउनुभयो । समाजवादको दिशामा अघि बढ्दै गरेको बेला केपी ओली प्रतिक्रान्तिकारीको खोपी बनेर उभिएको उहाँको भनाइ छ । 

‘केपी ओली बेइमान, ठगीधन्दा र खुरापातको माध्यमबाट अघि बढेका छन्’, दाहालले भन्नुभयो, ‘प्रतिक्रान्तिकारीहरूले ओलीलाई घेरेका छन्, सामन्त र दलाल पुँजीपतिको पक्षमा ओली उभिएर प्रतिनिधि सभा विघटन गरेका हुन् ।’

आफ्ना नाता गोतालाई मात्र हेर्ने गरेको प्रचण्डलाई आरोप लगाउँदै आउनुभएका ओलीका विरुद्धमा उहाँले कडा अभिव्यक्ति दिनुभएको छ । सभालाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, ‘म निःसन्तान भइनँ, के मेरो दोष हो रु मैले छोराछोरीलाई अमेरिका पठाइँन, छोराछोरीलाई मसँगै बन्दुक बोकाएर जङ्गल लिएर गएँ, त्यो मेरो दोष हो रु’

भावुक देखिनुभएका प्रचण्डले सम्बोधनका क्रममा भन्नुभयो, ‘म तपाईँसँग न्याय चाहन्छु, केपी ओलीले अत्याचार गर्न खोजे, शान्ति र न्यायका लागि जसले त्याग र बलिदान दियो, त्यसलाई निमेट गर्ने र अपमान गर्ने काम ओलीले गरेका छन् । छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराउनु मेरो दोष हो रु छोरी भएपछि ज्वाइँ हुन्छ, छोराको बुहारी हुन्छ, नातिनातिना हुन्छन्, के त्यो मेरो दोष हो रु धर्म छोरी भन्दै मैले कसैलाई नजिक पार्ने काम गरेको छैन ।’ धर्म छोराछोरी भन्दै तीनैलाई मात्रै हेर्न नागरिकका दुःख सुखमा साथ नदिने काम ओलीले गरेको दाहालको भनाइ छ ।

दाहालले देश कोरोना महामारीले आक्रान्त भएको बेला औषधि ल्याउनका लागि भ्रष्टाचार गर्ने व्यक्तिलाई च्यापेको, ७० करोड भ्रष्टाचार गर्नेलाई जोगाएको समेत आरोप लगाउनुभयो । नागरिक ओलीका विरुद्ध सडकमा आएकाले अब ओलीको श्री ३ महाराज बन्ने शोखलाई क्षणभरमा सकिदिने उहाँको दाबी छ । 

प्रतिनिधि सभा बैठक बोलाउन सक्छौँ

सभालाई सम्बोधन गर्दै दाहालले प्रतिनिधि सभा भङ्ग नभएको दोहोर्‍याउनुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो प्रतिनिधि सभा विघटन भएको हैन, केपी ओली विघटन भएको हो, केपी ओलीको सरकार भङ्ग भएको हो ।’ इतिहासमा ओलीलाई कलङ्क र तानाशाहको रूपमा नागरिकले सम्झिने दाहालले बताउनुभयो । 

संविधानमा नभएको अधिकार प्रयोग गरेर गरिएको प्रतिनिधि सभा विघटन आफूहरूले स्वीकार गर्न नसक्ने भएकाले सभामुखमार्फत् प्रतिनिधि सभा बोलाउन सक्ने दाहालले दाबी गर्नुभयो । 


SHARE THIS