बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान, ठूलो परिमाणमा गाँजा बरामद

 


काठमाडौं, पुस २६  गएराति बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ ।

गाँजा तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्दा उक्त समूहले प्रहरीमाथी गोली चलाएको थियो । त्यसको प्रतिकारस्वरुप प्रहरीेले फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्ण पंगेनीले लोकपथलाई जानकारी दिए ।

एसपी पंगेनीका अनुसार इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलामा दुवै समूहबीच गोली हानाहान भएको हो । त्यसक्रममा प्रहरीले ५ राउण्ड गोली फायर गरेको जनाइएको छ ।

सोही क्रममा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङलाई पक्राउ गरेको छ ।

त्यस्तै घटनास्थलबाट प्रहरीले १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद समेत गरिएको एसपी पंगेनीले जानकारी दिए ।

एसपी पंगेनीका अनुसार तामाङमाथि हातहतियार खरखजाना र लागु औषध मुद्धा चलाइने र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


SHARE THIS