काठमाण्डौको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताउनुभएको हो । पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमानदारिताका साथ पालना गर्न आग्रह गर्नुभयो ।
मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताउनुभयो । साथै आफ्नो सरकारले यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनैतिक समस्या निम्त्याउन खोजिएको पनि बताउनुभयो ।राजनैतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भए पनि सफल नहुने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीकी पत्नी एवं राधिका शाक्यले ज्येष्ठ नागरिक भवन निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।