एनआरएनएले कुवेतमा कारागारमा रहेका देखि एक वर्षसम्म तलब नपाएका श्रमिकको उद्धार गरी नेपाल पठायो

  काठमाण्डौ, मंसिर २८ । गैर आवासीय नेपाली संगठन एनआरएनएले विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल पठाएको छ ।

कुवेतमा एक वर्षदेखि ग्रीन हर्बो कफी सपमा काम गर्दै आउनुभएका काभ्रेका सुरेश लामा र दावा लामालाई उद्धार गरी शुक्रबार नेपाल पठाएको हो । दुवैजनाले ११ महिनादेखि कम्पनीबाट तलब पाउनुभएको थिएन ।

यस्तै ६ महिनादेखि कुवेतको कारागारमा रहनुभएकी मधु केसीको पनि उद्धार गरेर त्यही उडानमार्फत नेपाल पठाएको एनआरएनएले जनाएको छ । उहाँ घरेलु कामदारको रुपमा कुवेत जानुभएको थियो । रोजगारदाताबाट भनेजति सेवा सुविधा नपाएपछि उहाँ भागेर अवैधानिक भएर बस्नुभयो । कुवेत सरकारले प्रदान गरेको आममाफी प्रयोग गरी नेपाल फर्किन खोज्दा रोजगारदाताले विभिन्न आरोप लगाएर जेल पठाएको अवस्थामा उहाँको उद्धार गरिएको हो ।

एनआरएनएले नै सबैको नेपाल सम्मको हवाई टिकट, पीसीआर परीक्षण र काठमाण्डौदेखि घरसम्मको खर्चको व्यवस्था गरेको हो । गैर आवासीय नेपाली संघ कुवेतले केन्द्रको समन्वय र सहकार्यमा गएको हप्ता मात्रै यस्ता चार जनाको उद्धार गरेर नेपाल पठाएको एनआरएनएले जनाएको छ ।


SHARE THIS