नेकपा नेतालाई रामचन्द्र पौडेलको चुनौती : ‘आफैले संरचना निर्माण गरी उद्घाटन गरेर देखाउनुस्’‘कम्युनिस्टको

 हातमा लोकतन्त्र सुरक्षित हुँदैन’

  तनहुँ, मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नहुने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १, १० र ११ जोड्ने मोटरपुलको उद्घाटन गर्दै नेता पौडेलले सिद्धान्तहीन कम्युनिस्ट सरकारको कारण देशमा अवसरवाद, लेनदेनको राजनीति मौलाएको आरोप लगाउनुभयो । 

कम्युनिस्टहरू संसारमा समस्या जन्माउन मात्र सक्ने भन्दै नेता पौडेलले कम्युनिस्टबाट कुनै पनि समस्याको समाधान हुन नसक्ने बताउनुभयो । नेता पौडेलले तस्करीको पैसा देखाउँदै पार्टी प्रवेश गराउनु सङ्घीय लोकतन्त्र नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।  

राज्य कोषको पैसा दुरूपयोग गरेर निर्माण भएका संरचना देखाएर जनप्रतिनिधिले फुर्ती लगाउने गरेको भन्दै नेता पौडेलले स्थानीय तहमा जनप्रतिनिधि भएको अवस्थामा संसद् विकास कार्यक्रमको कुनै औचित्य नभएको बताउनुभयो । ‘अहिलेको अवस्थामा स्थानीय विकास पूर्वाधार कार्यक्रमको कुनै आवश्यकता छैन’, उहाँले भन्नुभयो, ‘केपी ओलीले षड्यन्त्र गरे, स्थानीय जनप्रतिनिधिले फुर्ती देखाउने काम भएको छ ।’ 

पुल उद्घाटनका लागि आफू हिजो कार्यक्रम स्थलमा आए पनि राजनीति पूर्वाग्रहमा प्रशासनले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको उहाँको आरोप छ । ‘हिजो पनि म त्यहाँसम्म आएको थिएँ, १० हात मात्रै बाँकी थियो’ पौडेलले भन्नुभयो, ‘प्रहरीले समातेर नियन्त्रणमा लियो, आज उनीहरु लज्जित भएर शिर निहुरिएको छ ।’

विकास गर्नुको साटो नेकपाले नागरिकको अगाडि रवाफ मात्र देखाएको भन्दै नेता पौडेलले आफूले संरचना निर्माण गरेर उद्घाटन गरेर देखाउन नेकपाका नेतालाई चुनौतीसमेत दिनुभयो । ‘सोढेँको पुलको काम पनि मेरै अगुवाइमा भएको थियो, त्यही भएर म आफैले उद्घाटन गरेँ’, उहाँले भन्नुभयो, ‘खुबी भए मास्दीको पुल बनाएर उद्घाटन गर्नुस् ।’ मास्दीको पुलको पनि डिजाइन र सर्भेको काम आफैले गरेर छाडेको उहाँको दाबी थियो ।   


SHARE THIS