रुकुम पश्चिम, पुस ७ । रुकुम पश्चिमबाट झण्डै दुई महिनाअघि हराएका बालक अहिलेसम्म पनि भेटिएका छैनन् । 

चौरजहारी नगरपालिका १ नाखिराका १४ वर्षीय नन्दराम गिरी (कुस विक्रम) नभेटिएको भन्दै उनका बुबा–आमाले खोजिदिन अनुरोध गर्नुभएको छ । ‘मेरो छोरा गएको कात्तिक १४ गतेदेखि हराएको हो’, उनका बुबा ध्रुव विक्रम गिरीले भन्नुभयो ‘प्रहरी, मिडिया सबैले खोजीमा सहयोग गरिदिनु भए आभारी हुने थिएँ ।’

जानकारीअनुसार ती बालक मुसिकोट नगरपालिका १ मा रहेको मामाघरमा बस्दै आएका थिए । मामाघरबाट निस्केका उनी अहिलेसम्म नभेटिएका हुन् । छोराको खोजीको लागि प्रहरी कार्यालय, माइती नेपाललगायतका निकायमा खबर गरेको तर अझै पत्ता नलागेको बुबा ध्रुवले बताउनुभयो । घर, मामाघर, नेपालगञ्जदेखि काठमाण्डौसम्म छोराको खोजी गर्दै हिँडेको उहाँले जनाउनुभयो । 

छोराको उचाइ ५ फिट ४ इञ्च, गहुँगोरो वर्ण, पातलो शरीर र नाकमा कोठी रहेको बताइएको छ । कहीँ कतै भेटिएमा नजिकको प्रहरी कार्यालय वा अभिभावकको सम्पर्क नम्बर ९८६९९७३४५३, ९७४८५२२९८५ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन् । 

Previous Post Next Post