‘कोरोनाको डर’ भन्दै ओली स्थायी कमिटीको बैठकमा अनुपस्थित, प्रचण्डको अध्यक्षतामा बैठक सुरु

  काठमाण्डौ, मंसिर २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएको छैन ।

ओली उपस्थित नभए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको छ । 

‘धुम्बाराहीको हल सानो छ, त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री जानुभएको छैन, सम्भवतः धुम्बाराहीमा हुने बैठकमा उहाँ जानुहुन्न होला’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोसँग भन्नुभयो । 

शनिबारको सचिवालयको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक नबस्न आग्रह गर्नुभएको थियो तर अन्य सदस्यले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाले स्थायी कमिटीको बैठक बस्नुपर्ने र दुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावको छलफल गर्ने बताएका थिए ।


SHARE THIS