जोटाको ह्‍याट्रिकमा लिभरपुलको सहज जित

 

दाङ, कार्तिक १९ । प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एटलान्टामाथि ५,० गोलको जित निकालेको हो ।

एटलान्टाको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटाले ह्‍याट्रिक गरे । त्यस्तै मोहमद सालाह र साडियो मानेले एक एक गोल गरे ।

खेलको १६औं मिनेटमा गोल गर्दै जोटाले टिमलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा जोटाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

४७औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई ३,० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मानेले गोल गर्दै टिमलाई ४,० गोलको अग्रता दिलाए । ५४औं मिनेटमा जोटाले गोल गर्दै ह्‍याट्रिक पूरा गरे ।

जितसँगै समूह डीको लिभरपुलले तीन खेलबाट ९ अंक जोडेको छ । लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । पराजित एटलान्टा ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।


SHARE THIS