कोरोना परीक्षणको दर घटेसँगै संक्रमितको संख्या घट्यो


काठमाडौं, कार्तिक १७ । कोरोना परीक्षणको दर घटेसँगै कोरोना संक्रमितको संख्या समेत घटेको छ । देशैभर पछिल्ला सात दिनहरु (कात्तिक ९ गतेदेखि १५ गतेसम्म) मा कोरोना परीक्षण दर घटेसँगै नयाँ संक्रमितको संख्या पनि घटेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत कात्तिक ९ गतेको तथ्याकं अनुसार १२ हजार ३११ जनाको कोरोना परीक्षण भएको थियो । जसमा दुई हजार ८५६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कार्तिक १० गते  कोरोना परीक्षण  पाँच हजार ६ जनाको भयो । कात्तिक ११ गते परीक्षणको दर घटेर दुई हजार ७२५ पुग्यो । जुन दिन कोरोना संक्रमित ५७० थपिए ।

कार्तिक १२ गते  आठ हजार  २४८ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एक हजार ९५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कार्तिक १३ गते नौ हजार ७६९ जनाको कोरोना परीक्षण भएकोमा दुई हजार ३६४ जना र कार्तिक १४ गते १४ हजार ९८९ जनाको पीसीआर परीक्षण भएकोमा ३ हजार ५१७ जनामा कोरोना संक्रमण देखिएको थियो । 

कार्तिक १५ गते नौ हजार २९९ जनाको कोरोना परीक्षण गरिएको थियो, जसमा दुई हजार ५०८ संक्रमित देखिएका थिए ।

कार्तिक १६ मा १३ हजार २३ जनाको  पीसीआर परीक्षण भएकोमा दुई हजार ८२४ जना संक्रमित भेटिएको मन्त्रालयको तथ्यांकले देखाएको छ  ।

देशैभर कोरोना परीक्षणका लागि ४२ वटा सरकारी र २२ निजी प्रयोगशाला छन् । तर, प्रयोगशालाको क्षमता अनुसार परीक्षण हुन नसकेको देखिन्छ ।

मन्त्रालयले गत कात्तिक २ गतेबाट लागु हुनेगरी नेशनल टेष्टिङ् गाइडलाइन संशोधन गरी ‘विपन्‍न, अशक्त र असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण देखिए मात्र निःशुल्क परीक्षण  र उपचार गरिने जनाएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेशनल टेष्टिङ गाइडलाइन परिवर्तन हुनुभन्दा करिब तीन हजारसम्म कोरोना परीक्षण हुँदै आएको थियो  । तर  गाइडलाइन परिवर्तन भए यता मुस्किलले ५ सय नाघ्‍ने गरेको छ । प्रयोगशालका सूचना अधिकारी राजेश गुप्ताका अनुसार नेशनल टेष्टिङ गाइडलाइन परिवर्तन भए यता निस्शुल्क परीक्षणका लागि कम आउने गरेको बताउँछन् । उनका अनुसार हाल दैनिक पाँच सयसम्म परीक्षण हुने गरेको छ ।

गाइडलाइन परिवर्तन हुनुभन्दा अघि स्थानीय तह र इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा ९ईडिसिडी०को टिमले कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको थियो तर हाल सबै जिम्मेवारी ईडीसीडीले स्थानीय तहहरुलाई छाडेको छ ।

यता,जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासीनीले सरकारले कोरोना नियन्त्रणमा परीक्षण बढाउँनुपर्नेमा खुम्चाउँदै गएको बताउँछन् । उनका अनुसार कोरोना परीक्षण निशुल्क भएको भएर धेरै परीक्षण गर्थे जसले गर्दा नियन्त्रणमा सजिलो हुन्थ्यो तर अब शुल्क तिरेर परीक्षण गर्नुपरेपछि लक्षण देखिएपनि वास्ता नगर्दा  र परीक्षण गर्न नजादाँ झनै फैल्ने हुन्छ । उनलेभने, “कोरोना परीक्षणको शुल्क पनि महँगो भयो । ”

सरकारले निःशुल्क टेष्ट गर्न छाडेपछि कन्ट्याक्ट ट्रेसिङ नराम्रोसँग प्रभावित बनाएको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् । 


SHARE THIS