चित्रबहादुर केसीका छोराको फेसबुक स्टाटसले जनमोर्चामा हल्लीखल्ली


काठमाडौं, कार्तिक २७ । पूर्वउपप्रधानमान्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन् । राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् ।

वयोवृद्ध नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी र विष्णु केसी दुवै जापानमा छन् । उनैमध्ये जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेपछि यतिबेला राष्ट्रिय जनमोर्चाभित्र हल्लीखल्ली मच्चिएको छ ।

केसीका जेठा छोरा सचित्रले फेसबुकमा बुबाआमाको समेत तस्वीर राखेर यस्तो लेखेका छन्, ‘सबै साथीहरुलाई अभिवादन । बुबा खतरामुक्त हुनुहुन्छ । अनावश्यक हल्ला गरेर पैसा उठाउने बाहनामा कोही पनि नफस्नुहोला । आवश्यक परे पारिवारिक रुपमा हामीले सूचना गर्नेछौं ।’

केसीको उपचारका लागि पार्टीबाट उपचार खर्च जुटाउने अभियान सुरु गरेकोप्रति लक्षित गर्दै छोरा सचित्रले भनेका छन्, ‘चित्रबहादुर गम्भीर छन् भनेर प्रचार गरिएको छ, त्यो सर्वथा झूठ हो, यसको पछि नलाग्नुहोला । शुभ रात्री ।’


SHARE THIS