सचिवालय बैठकका लागि दाहाल–नेपाल समूहले ओलीलाई दिएको ‘अल्टिमेटम’ आज सकिँदै



काठमाडौं, कार्तिक २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले बैठकको माग गर्दै दिएको ‘अल्टिमेटम’ को समय आज सकिँदैछ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदिनअघि लिखित माग गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । तर ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

ओलीले पहिले दुईजना अध्यक्षबीच सहमति कायम गरेर मात्रै बैठक बोलाउने अडान लिएका छन् भने उनले आफू नै अहिले पहिलो अध्यक्ष भएको र आफ्नो सहमतिबिना कुनै पनि बैठक बोलाउन नमिल्ने तर्क गर्दै आएका छन् । दाहाल–नेपाल समूहका नेताहरु पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार र शनिबार बैठक बसेर लिखित पत्र लिएर बालुवाटार पुगेका थिए ।

केन्द्रीय कमिटी र भदौ २६ गतेको पाँचौं स्थायी कमिटीको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हिसाबले बैठक राख्न सक्ने भए पनि पार्टी एकतालाई जोगाउन अनौपचारिक बैठक गर्नुपरेको नेताहरूले बताएका छन् ।

आज अल्टिमेटम सकिएपछि पनि ओली बैठक नबोलाए के हुन्छ त भन्ने बाह्रखरीको प्रश्नमा एक नेताले भने, “अझै एकदुईदिन हेर्छौं, बैठक बोलाउनुको विकल्प छैन । कसैगरी पनि बैठक उहाँले बोलाउनुभएन भने कार्यकारी अध्यक्षले बैठक बोलाउनुहुन्छ, बहुमतका आधारमा निर्णय हुनेछ ।”

उनका अनुसार अध्यक्ष दाहालले संसदीय दलको समेत बैठक बोलाउन सक्नेछन् ।


SHARE THIS