नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा, ओलीले बैठक नबोलाए कार्यकारी अध्यक्षले बोलाउने तयारी ।

काठमाडौं, कार्तिक २५ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक आज पनि बस्दैछ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आज दिउँसो ४ बजे फेरि छलफलको समय तय भएको छ ।

ओलीले बैठक नबोलाए कार्यकारी अध्यक्ष दाहालले नै बैठक बोलाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

तर यसको नेताहरुले आधिकारिक पुष्टि भने गरेका छैनन् । ओलीले दाहालसँग यसअघि भएको वार्तामा आफ्नो सहमतिबिना बैठक बोलाइए फुटको बिन्द त्यही हुने चेतावनी दिएका छन् भने आफ्नो समूहका नेताहरुको बैठक लगातार राखेका छन् ।

पार्टीभित्रको पेचिलो बन्दै गएको विवादबीच नेकपाका महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सोमबार खुमलटार पठाएका थिए । पाँच सदस्यले पठाएको पत्रमा तोक लगाएर अध्यक्ष ओलीले विधानअनुसार गर्नू भनेका थिए । तर, महासचिव पौडेलले कुनै ‘मूर्त सन्देश’ नल्याएको भन्दै दाहालले बैठकभन्दा पनि सहमति खोजेको बताएका थिए ।

खुमलटार स्रोतका अनुसार महासचिव पौडेलले शनिबार बहुमत सदस्यले बैठक डाक्न सहमतिको माग गर्दै पठाएको पत्रमा ओलीले लगाएको ‘तोक–आदेश’ बोकेर गएका थिए ।

खुमलटार स्रोतका अनुसार पत्रको माथिपटिट् पहिलो वरीयताको अध्यक्षका हिसाबले ओलीले ‘विधानअनुसार बैठक डाक्ने तयारी गर्नू भन्ने व्यहोराको ‘तोक’ लगाएका रहेछन् । त्यही बोकेर महासचिव पौडेल खुमलटार पुगेका रहेछन् । सचिवालयका बहुमत सदस्यले ओलीले बैठक नबोलाए औपचारिक बैठकको तयारी गरेको एक नेताले बताए । तर फुटको बिन्दु हुने चेतावनी ओलीले दिएकाले अहिले नै त्यो कदम चाल्न पनि दाहाल तयार नभएको स्रोत बताउँछ ।

स्रोतका अनुसार ओली तत्काल बैठक राख्न तयार छैनन् । तर, ओलीले आकर्षित नै नहुने विधानको धारा टेकेर बैठक अझै टार्न–पन्छाउन खोजेको उनी बताउँछन् ।

विधानको धारा ५९ (४)मा  कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्ने प्रावधान छ । यही धारामा टेकेर वैशाख १० गते स्थायी कमिटीका २० जना र साउनमा १४ गते केन्द्रीय कमिटीका १५२ जना सदस्यहरूले तत्काल तत्तत् कमिटीको बैठक डाक्न माग गरेका थिए ।


SHARE THIS