काठमाडौँ विश्वविद्यालयमा आन्दोलन जारी

काठमाडौँ, कार्तिक २५ । अनलाइन कक्षाबाहेक अतिरिक्त विषयमा शुल्क नलिन माग गर्दै जारी भएको काठमाडौँ विश्वविद्यालयको रिले अनशन आज पनि जारी छ । आइतबारदेखि बसेको अनशनबारे विश्वविद्यालय प्रशासनबाट औपचारिक छलफलमा कोही नआएको आन्दोलनरत विद्यार्थी आयशा शाक्यले बताइन् । 

आन्दोलनमा विश्वविद्यालयका स्कूलअफ साइन्स, स्कूल अफ इञ्जिनियरिङ, स्कूलअफ ल, स्कूल अफ आर्ट र स्कूल अफ म्यानेजेमन्टका विद्यार्थीले काभ्रेस्थित प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् । विद्यार्थीहरु दिन तथा रात अनशनमा बसिरहेका छन् ।

५ बुँदे मागसहित विद्यार्थी आन्दोलनमा बसेका हुन् । असोज २२ मा निकालेको सूचना खारेज वा अर्को सूचना जारी गरेर समस्या समाधान नभएसम्म विद्यार्थीले शुल्क तिर्न नपर्ने, ट्युशन शुल्कबाहेक खेलकुद, पुस्तकालय र इन्टरनेटका शुल्कलगायत ८ शीर्षकामा शुल्क कटौती गर्ने, गाह्रो भएको परिवारलाई कोभिड राहत छात्रवृत्तिको व्यवस्था गर्ने र कोभिड नसकिउन्जेल ढिलो शुल्क तिर्दा जरिवाना नलाग्ने व्यवस्था गर्न विद्यार्थीको माग छ । 

विश्वविद्यालयले माग पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म आन्दोलन नछाड्ने शाक्य सुनाउँछन् । 


SHARE THIS