पार्टीनिकट कानुन व्यवसायीसँग प्रचण्ड–नेपालको छलफल

काठमाडौं, कार्तिक २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् ।

बिहीबार बिहान पेरिसडाँडामा भएको छलफलमा बार एशोसियनका पदाधिकारी र पार्टीनिकट कानुन सङ्गठनका पदाधिकारी उपस्थित रहेको बताइएको छ । छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपानिकट कानुन संगठनका इन्चार्ज देव गुरूङ र कानुन विभागका प्रमुख रघुजी पन्त पनि सहभागी थिए । 

पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि पार्टी अध्यक्ष प्रचण्डसहित नेता नेपालहरू नियमित छलफल र परामर्शमा छन् । तर, आजको छलफलमा यस विषयका कुनै प्रसङ्ग नउठेको नेताहरूले बताएका छन् ।

“हाम्रो पार्टीसँग सम्बन्धित होइन । बारको के छ, न्यायालयको के छ, न्याय परिषद्मा के हुँदैछ भनेर ब्रिफिङ गरिएको हो,” पार्टी प्रवक्ता श्रेष्ठले भने “पार्टीको पछिल्लो संकटका बारेमा एक शब्द पनि उच्चारण भएको छैन ।” त्यस्तै कानुन विभाग प्रमुख रघुजी पन्तले सामान्य छलफल भएको बताए । “त्यहाँ धेरै कानुन व्यवसायी हुनुहुन्नथ्यो । कोभिडपछि बाहिर निस्कन पाएको थिइनँ । पछिल्लो अवस्थाका बारेमा नेताहरूसँग कुराकानी भयो,” उनले भने ।

बार एशोसियसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद् सदस्यबारे पनि नेकपाभित्र विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अलगअलग नाम अघि सारेका छन् । त्यसबारेमा पनि कुनै छलफल नभएको पन्तले जानकारी दिए ।


SHARE THIS