प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता प्रक्रियामा


काठमाडौं, कार्तिक १६ । सर्वोच्च अदालतको आदेश अटेर गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध निवेदन दर्ता प्रक्रियामा रहेको छ । 

अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले सर्वोच्च अदालतले कोभिड १९ को उपचार निशुल्क गर्न आदेश गरे पनि उल्लंघन गरेको भन्दै आइतबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । 

उनीहरुले दिएको निवेदन दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । 

“निवेदन दर्ता प्रक्रियामा छ । प्रक्रिया पूरा भएपछि दर्ता भइहाल्छ,” ढकालले भने । निवेदक ओलीले आफूहरुले निवेदन दर्ताका लागि आवश्यक शूल्क समेत बुझाइसकेको र सम्बन्धित शाखाले दर्ता भएको जानकारी गराएको निवेदक ओलीले बताए । 

असोज १५ गते सर्वोच्चले स्वास्थ्य तथा जनसंँख्या मन्त्रालयका नाममा कोभिड १९को सबै उपचार निशूल्क गर्नु भनी परमादेश जारी गरेको थियो ।  तर, मन्त्रालयले उपचार शूल्क आफै तिर्नु भनेको र सरकारी अस्पतालले समेत रकम तिर्नुपर्ने सूचना निकालेर परमादेशको अवज्ञा गरेको भन्दै निवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सम्मको सजाय गर्न माग गरिएको छ । अस्पतालहरुले कोभिड १९को उपचार अघिनै धरौटी राख्नुपर्ने सूचना नै निकालेपछि त्यसको विरोध भइरहेको छ । 

बिदाको मौका पारेर सर्वोच्च अदालतकै फैसला विरुद्ध सरकारले उपचारमा शुल्क लिने निर्णय गरेको र यसो गर्नु सर्वोच्च अदालतको फैसलाको उल्लंघन र अनादर भएको भन्दै प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाललाई १ वर्ष कैद र १० हजार जरिवाना गर्न निवेदनमा माग गरिएको छ । बाह्रखरी बाट


SHARE THIS