बालिकालाई बन्धक बनाई करणी गर्ने भारतीय नागरिक जनकपुरबाट पक्राउ


जनकपुर, कार्तिक १७ । जनकपुरधाम उपमहानगरपालिका ७, को भ्रमरपुरा चोकमा डेरा गरी बस्‍ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्‍ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत बिहार सीतामढी जिल्ला बथनाहा ग्राम  पञ्चायत भुतही ५ का ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।

घरमा कोही नभएका बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ । साह सोही घरको तल्लो तलामा भाडामा बस्दै आएका छन् । बालिकाकी आमा छोरीलाई खोजी गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखेर हल्ला गर्दा स्थानीयको सहयोगमा साहलाई प्रहरीले पक्राउ गरेको हो । 

साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 


SHARE THIS