एकैदिन २५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास

  काठमाण्डौ, मंसिर १५ । सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ । पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका तीन सय ९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले देशका तीन सय ९६ पालिकामा एक साथ पाँच शय्या, १० शय्या र १५ शय्याका पालिका स्तरका आधारभूत अस्पतालहरूको शिलान्यास गरिएको बताउनुभयो ।

यस्तै सात वटा प्रदेशमा ५०र५० शय्याका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । पालिका स्तरमा निर्माण हुन लागेका तीन सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यस्तै सात वटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि हरेक अस्पताललाई आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सात सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा यसअघि पनि अस्पताल थिएन । तीमध्ये पहिलो चरणमा तीन सय ९६ पालिकामा अस्पताल निर्माण गर्न लागिएको हो ।


SHARE THIS