लागुऔषध कारोबार गर्ने औषधि व्यवसायीसहित ४ जना पक्राउ


सप्तरी, कार्तिक १८ । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्‍न ठाउँबाट औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि अवैध लागुऔषधको कारोबार गरेको आरोप छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्‍गा नगरपालिका ४, मधुपट्टीका १९ वर्षीय नीतेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लास्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कदरवनाका प्रहरी निरीक्षक वीरन्द्र पासवानले बताए । चौधरीको झोलाबाट ४५ थान नाइट्राभेट ट्याब्लेट, १० एम्पुल डिजिक्लाब, १० एम्पुल नुफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ ।

त्यस्तै जाँचकै क्रममा बोदेबर्साइन नगरपालिका ३, कुशमहारका ३१ वर्षीय नीतेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट समेत लागुऔषध बरामद प्रहरीले जनाएको छ । स।११प ८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाइट्राभेट ट्याब्लेट बरामद भएको थियो ।

यस्तै बोदेबर्साइन नगरपालिका १०, खड्कपुरका औषधि व्यवसायी ३७ वर्षीय रञ्‍जितकुमार यादव पनि पक्राउ परेका छन् । यादवले नै नयाँ चोकमा सञ्‍चालन गरेको कुखुरा फार्मबाट डाइलेक्स डीसी सिरप ३५ बोतल, नाइट्राभेट ट्याब्लेट ७०, नफिङ इन्जेक्सन दुई, डाइजेलप इन्जेक्सन सातवटा र स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतको बिहार राज्यसँग सिमाना जोडिएको सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमाना छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौं नाका छन् । सोही कारणले ती नाकामा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । 


SHARE THIS