पन्जाबद्धारा चेन्‍नईलाई १५४ रनको लक्ष्य


दाङ, कार्तिक १६ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत किङ्स इलाभेन पन्जाबले चेन्‍नई सुपर किङ्सलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ । शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो । 

पन्जाबका लागि दीपक हुड्डाले अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ३ चौका र ४ छक्काको सहयोगमा ६२ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २९ रन बनाउँदा मयंक अग्रवालले २६ रनको योगदान गरे । 

बलिङतर्फ चेन्नईका लागि लुङ्ली एन्गिडीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शार्दुल ठाकुर, इमरान ताहिर र रवेन्द्र जडेजाले समान एक–एक विकेट लिए । आजको खेलमा पन्जाबलाई जित्नै पर्ने दबाब छ । पन्जाबले आजको खेलमा जित निकाल्न सकेमा प्लेअफमा स्थान बनाउने अवसर कायम हुनेछ । 

यता समूह चरणबाट बाहिरिएको चेन्नई आजको खेलमा जित निकाल्दै सिजनको सुखद विदाई गर्ने योजनामा रहेको छ । लिगमा १३ खेल खेलेको चेन्नई १० अंकका साथ पुछारमा छ । 

१२ अंक जोडेको पन्जाब तालिकाको पाँचौ स्थानमा रहेको छ । 


SHARE THIS