सभाहल निरीक्षण गर्न प्रधानमन्त्री गोदावरीमा


ललितपुर, कार्तिक १६ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीस्थित निमार्णाधिन सभा हलको अवलोकन गरेका छन् । आइतबार दिउँसो सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसहित हलको हालसम्मको प्रगति विवरणबारे जानकारी लिन प्रधानमन्त्री गोदावरी पुगेका हुन् ।

सो क्रममा उनले हालसम्मको प्रगतिबारे जानकारी लिँदै आगामी तीन महिना भित्र सम्पन्‍न गर्न निर्देशन दिए । अवलोकनको क्रममा उनले हल चाँडै सम्पन्‍न गरी महत्वपूर्ण कार्यक्रम यही हलमा गर्नसक्ने गरी तयारी गर्न आग्रह गरे ।  

सहरी विकास मन्त्री श्रेष्ठले नेकपाको सरकार बनेको तीन वर्ष पुगेको दिन अर्थात फागुन ३ गते उद्घाटन गर्नेगरी तयार गर्न निर्देशन दिए । माघमा सम्पन्‍न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई उनले निर्देशन दिएका हुन् ।  

२०७६ असोज २० गतेबाट निर्माण सुरु भएको सो हल यही २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधिन सो हल केसी–समानान्तर जेभिले ५८ करोड २४ लाख रुपियामा ठेक्का पाएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले हलको बारेमा जानकारी गराउदै हालसम्म ६५ प्रतिशत प्रगति भैसकेको बताए । ४३ रोपनी मध्ये ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगैचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भइरहेको छ ।

कोभिड–१९को कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको जानकारी गराउदै गेलालले माघभित्र सम्पन्न गर्ने अन्तिम तयारी गरेको बताए । खराब बाटोको कारण त्यहा पुग्न समस्या भएपछि प्रधानमन्त्री ओलीले माघ महिनाभित्र बाटो सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।


SHARE THIS