लागुऔषधसहित तीनजना पक्राउ

झापा, कार्तिक २५ । झापाका दुई स्थानबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सोमबार राति करिब सवा ८ बजे दमक ८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लागुऔषध लुकाएर राखेको भन्‍ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो ।

लागुऔषध बरामद भएको कोठामा दमक ७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रनाउ थापाले बताए ।

यसैबीच मेचीनगर नगरपालिका ६, काली मन्दिर छेउबाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित एकजना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर १४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागुऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका विकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । (रासस


SHARE THIS