वरिष्ठ नेता खनाल र महासचिव पौडेलको साझा निष्कर्ष : ‘नेकपा एकता संकटमा छ’


काठमाडौं, कार्तिक १६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव

विष्णु पौडेल पार्टी एकता सङ्कटमा परेको साझा–समान निष्कर्षका पुगेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहखनालले पार्टी निर्णय कार्यान्वयनका सन्दर्भमा समस्या हुँदा पार्टी एकता नै धर्मराउन थालेको बताएका हुन् ।

“पार्टी एकता सङ्कटमा छ । पार्टीका निर्णयहरू, नीतिहरू लागु भएनन्,” खनालले पार्टी एकता सङ्कटमा पर्नुको कारण पर्गेल्दै भने, “खास गरेर प्रधानमन्त्री केपी शर्मा ओली र सरकारले लागु गरेन । त्यो लागु नगरेको हुनाले पार्टीको एकता पनि अगाडि बढ्न सकिरहेको छैन । अग्रगति सम्भव छैन । अग्रगमन सम्पूर्णरूपमा रोकिएको छ । र, पार्टी एकता सङ्कटको विन्दुमा पुगेको देखिन्छ ।”

पार्टीका निर्णय मान्ने हो भने नेकपा सकारात्मक दिशातिर अघि बढ्ने खनालको भनाइ छ । पार्टी निर्णय नमान्ने हो भने झन् जटि हुँदै जाने उनको ठहर छ ।

पार्टी महासचिव पौडेलले पनि फेसबुक–ट्विटरमा पार्टी एकता सङ्कटमा परेको बताएका छन् । 

“राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङेक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमालें र नेकपा (माओवादी केन्द्र)बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो,” पौडेलले फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका छन्, “पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथिसमेत बारम्बार प्रश्न उठेको छ ।”

यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको उनको ठहर छ ।  नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने पनि उनको भनाइ छ । “तसर्थ, आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु,” उनले आग्रह गरेका छन् ।

उनले पार्टीको पछिल्लो परिदृश्यप्रतिको आफ्नो निजात्मक अनुभूति भएको जिकिर गरे ।

कूटनीतिक भाषा प्रयोग गर्दै पौडेलले भने, “एउटै विषयमा पनि मानिसको भिन्नभिन्न दृष्टिकोण रहन्छ । य मलाई लागेको मात्रै पनि हुनसक्छ ।” पौडेलले अगाडि थपे, “कसैलाई असाध्यै गर्मी लागेर छाता ओढिरहेको हुन्छ । कसैले त्यही मौसममा गलबन्दी लगाएको हुनसक्छ ।”


SHARE THIS