मीन विश्वकर्मालाई एयर एम्बुलेन्समा दिल्ली लगेर उपचार गर्न सरकारसँग कांग्रेसको माग


काठमाडौं, कार्तिक १६ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना संक्रमणपछि भेन्टिलेटरमा उपचार गराइरहेका नेता मीन विश्वकर्मालाई एयर एम्बुलेन्समा दिल्ली लगेर उपचार गराउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस संगठन विभागका  प्रमुख तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग यस्तो आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्रीसँग कुरा गरेर तत्काल यस्तो निर्णय गर्न आग्रह गरेका हुन् । उनले सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री ओलीसँग कुरा गरेर यस्तो आग्रह गर्न भनेका हुन् । विश्वकर्मा नेपाल दलित संघका अध्यक्ष पनि हुन् ।

“मीन विश्वकर्मा अहिले सांसद हुनुहुन्छ, दलित नेता हो, “उहाँलाई हिजोदेखि भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । त्यहाँ चिकित्सकहरुसँग कुरा गर्दा दिल्ली लैजान सकिने बताउनुभएको छ । त्यसैले सरकारले भारतको सरकारसँग कुरा गरेर उहाँलाई थप उपचारका लागि दिल्ली लैजान आग्रह गरेको हुँ । ”

उनी निवर्तमान वाणिज्य मन्त्री पनि रहेका विश्वकर्मा कोरोना संक्रमित भएपछि केही दिन घरमै बसेका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनी वीर अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँबाट उनलाई ग्रान्डी लगिएको हो ।


SHARE THIS