प्रचण्डको दस्तावेज प्रतिवेदन होइन, मविरुद्धको प्रहार हो स् प्रधानमन्त्री ओली

 

काठमाडौं, कार्तिक ३० । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको दस्तावेज राजनीतिक प्रतिवेदन नभइ आफूविरुद्धको प्रहार भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा सचिवालयको ७०औं बैठकमा पेस भएको कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन कुनै हालतमा छलफल गर्न नहुने अडान राखेका हुन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो पार्टीका वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर परामर्श गरेका थिए । महासचिव विष्णु पौडेल पनि सहभागी छलफलमा प्रधानमन्त्री ओलीमा पार्टीमा उत्पन्न सङ्कट कत्ति पनि चिन्ता नदेखिएको नेपालनिकट नेताले जानकारी दिए ।

“प्रधानमन्त्रीमा पटक्कै पार्टीको सङ्कटप्रति चिन्ता र कमी(कमजोरीप्रति आत्मबोध छैन । उहाँमा आफू सच्चिनुपर्छ भन्ने भावना नै देखिँदैन,” नेपालनिकट नेताले बाह्रखरीसँग भने, “उहाँ पुरानै अडानमा हुनुहुन्छ । सरकार सञ्चालमा पार्टीका नेताबाट असहयोग गरिएको घेराबन्दी गरिएको गुनासो मात्रै छ ।”

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि नेता नेपालसँग ठोस र मूर्त कुराकानी हुन नसकेको बताए । विगतका छलफलमा जस्तै गुनासो सुन्ने मात्रै काम भएको उनको भनाइ थियो । छलफल नेता नेपालले कमिटीको बैठकबाटै समाधान खोज्न र संयम हुन आग्रह गरेको रिजालको भनाइ छ ।

“कमिटीको बैठकबाटै समस्याको निकास खोज्नुपर्छ । समाधानको उपाय पहिल्याउनुपर्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै रिजालले भने, “पार्टीमा कसैलाई निषेध गरेर जानुहुँदैन । हामी सबैले जिम्मेवार भएर निकास खोज्नुपर्छ । निकास असम्भव पनि छैन । बैठक, पार्टीको विधि, विधान, पद्धतिबाटै समाधान खोज्नुपर्छ । पार्टी एकताको मर्म, भावना, सन्तुलन सबैलाई ख्याल गर्नुपर्छ । पार्टीलाई विभाजनतिर लैजानु हुँदैन ।”

ओलीले आजै उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेका थिए । ओलीले हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।


SHARE THIS