कांग्रेसले केसीको निधनको शोकमा बुधबार देशभरका कार्यालय बन्द गर्ने


काठमाडौं, कार्तिक १८ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा मनोनित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा बुधबार देशभरका कार्यालयहरु बन्द गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले सांसद केसीको निधनको शोकमा बुधबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनकाअनुसार बैठकले कात्तिक १८, १९ र २० गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । यस्तै स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको छ ।

नेता केसीको सोमबार राति १० बजे ६३ वर्षको उमेरमा कास्कीको पोखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित आफ्नै निवासमा निधन भएको थियो । उनी २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए ।    


SHARE THIS