संस्थागत पूर्वाधार निर्माणमा तुलसीपुरको अग्रसरता


दाङ, कार्तिक १७ । दाङको तुलसीपुर उपमहानगरपालिकाले संस्थागत पूर्वाधार निर्माणमा अग्रहरता देखाएको छ। उपमहानगरपालिकाका सबै संस्थाहरुलाई स्रोत साधन सम्पन्न बनाउने उद्देश्यका साथ उपमहानगरले संस्थागत पूर्वाधार निर्माणमा अग्रसरता देखाएको हो । विभिन्न संघ संस्थाका निर्माका क्रममा अलपत्र परेका  तथा नयाँ निर्माणका संरचनामा उपमहानगरले लाखौं रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरपालिकाले विभिन्न संस्थागत भवन निर्माणको कामलाई अगाडी बढाएको जानकारी दिँदै नगर प्रमुख घनश्याम पाण्डेले सबै संस्थाहरु स्रोत साधन सम्पन्न भएमात्रै उपमहानगरपालिका सम्पन्न हुने घारणा राख्नुभयो ।

उपमहानगरपालिकाले पूर्वाधार निर्माण अन्तरगत तलुसीपुरको गौरबका रुपमा रहेको राप्ती बबई बहुमुखी क्याम्पसमा संरचनाको निर्माण गरेको छ । गरिव, विपन्न र निम्न आय भएका विद्यार्थीले अध्ययन गर्ने कलेजमा पूर्वाधार निर्माणको समस्यालाई तुलसीपुर उपमहानगरपालिकाले समाधान गरेको छ । विश्वविद्यालय अनुदान आयोगले भौतिक पूर्वाधार निर्माणमा म्याचिङ्ग फण्डको लागि उपमहानगरपालिकाले रकम हालेपछि अहिले अडिटोरिएम हल बनेको छ । उपमहानगरपालिकाकै सहकार्यमा प्रदेश सरकारबाट ५० लाखको लागतमा क्याम्पसमा क्यान्टिन समेत निर्माण भएको छ । क्याम्पस सञ्चालन समितिका सदस्य मोहन भण्डारील थप कामका लागि नगरपालिकाको आश्वासन पाएको बताउँदै अन्य योजना पनि बनाईरहेको जानकारी दिनुभयो ।

यस्तै तुलसीपुरको गौरबका रुपमा रहेको राप्ती आँखा अस्पतालमा अन्योलमा रहेको ओपिडि भवन निर्माणको काम निर्माण भएको छ । उपमहानगरपालिकाले अस्पतालसँग समपुरक अनुदानमा ५० लाख रुपैया हालेपछि अहिले भवन निर्माणको काम पूरा भएको छ । भवनको बाँकी फिनिसिङ्गको काम पनि नगरपालिकासँगको सहकार्यमा गरिने भएको  नेत्रज्योति संघ दाङ्गका अध्यक्ष कृष्णकुमार गिरीले बताउनुभयो ।

त्यसैगरी तुलसीपुरमै रहेको नेपाल रेडक्रम सोसाईटीको भवन निर्माणको काम पनि अलपत्र अवस्थामा रहेको थियो । कुनै पनि निकायबाट बजेट पाउन नसक्दा भवनको आधा काम मात्रै बनेको थियो । तुलसीपुर उपमहानगरपालिकाले ५० लाख अनुदानमा सहयोग गरेपछि अहिले भवनको काम पूरा भएको अध्यक्ष नारायण कुमार आचार्यले बताउनुभयो । उहाँले स्थानीय सरकारको सहयोग विना काम सम्पन्न गर्न कठिनाई भएको समेत बताउनुभयो ।

उपमहानगरपालिकाका बजेट तथा योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार प्रदेश प्रहरी कार्यालयको भवन निर्माणका लागि ३१ लाख, पक्की नाला निर्माणका लागि ३ लाख, सशस्त्र प्रहरी वल सुरक्षा वेस क्याम्पको पर्खाल र गेट निर्माणका लागि ३ लाख, अपाङ्ग समाज सुधार केन्द्रको भवन निर्माणका लागि ४ लाख, निमित्त राष्ट्रसेवक समाजको भवन निर्माणका लागि ४ लाख, इलाका प्रहरी कार्यालयको वन्दी गृह निर्माणका लागि करिव ८ लाख, पार्किङ्गका लागि करिव ३ लाख, युनाइटेड भवनको कार्यालय निर्माणका लागि साढे दुई लाख सहयोग गरिएको जानकारी दिनुभयो । यसैगरी तुलसीपुर नगर जेसीज र लायन्स क्लवको भवन निर्माणमा पनि उपमहानगरपालिकाले विभिन्न सहयोग गरेको नगर प्रमुख पाण्डेको भनाई छ । आर्थिक अभावमा कुनै पनि संस्थागत संरचना निर्माणको काम पछाडि नपर्ने उहाँले बताउनुभयो । ‘उपमहानगरपालिकाको जग भनेका यहाँका संघसंस्थाहरु हुन् यी सबैलाई हामीले सहयोग गर्नुपर्ने हुन्छ ’ नगरप्रमुख पाण्डेले भन्नुभयो ।


SHARE THIS