तुलसीपुरमा पिसिआर परिक्षण गर्ने तयारी

दाङ, कार्तिक २०। कोरोना संक्रमणको दर बढ्दै गएपछि तुलसीपुरमा नै पिसिआर परिक्षण गर्ने तयारी गरिएको छ । अहिले दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र परिक्षण हुँदै आएकोमा तुलसीपुर उपमहानगरले नै मेसिन खरिद गरी परिक्षणको तयारी गरेको हो । जसकालागि तुलसीपुर उपमहानगर कार्यपालिकाको ९५औ बैठकले मेसिन खरिद गर्ने निर्णय गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले मेसिन सहयोगको प्रतिवद्धता आइसेकेको जानकारी दिदै मेसिनलाई व्यवस्थापन र सञ्चालनका लागि सबैको पनि सहयोग चाहिने बताउनुभयो ।

यसैगरी कार्यपालिकाको बैठकले आइसियु स्थापना गर्ने समेत निर्णय गरेको छ । लक्षण देखिएका विरामीको संख्या बढेसँगै आइसीयुको अभाव हुने कुरालाई मध्यनजर गरेर स्थापना गर्न लागिएको नगरप्रमुख पाण्डेले बताउनुभयो । उहाँले तुलसीपुरको प्रादेशिक अस्पतालका साथै उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालमा गरेर ६ बेडसम्मको आइसीयु स्थापना गर्न लागिएको जानकारी दिनुभयो । बैठकले आइसीयु स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले कोरोना संक्रमित नागरिकले आफ्नो उपचार आफै गर्न नसके उपमहानगरपालिकाले गर्ने निर्णय गरेको नगरका प्रवक्ता सुर्यवहादुर डाँगीले बताउनुभयो । ‘लक्षण देखिएका विपन्न वर्गका विरामीको कोरोना चेकजाँच समेत उपमहानगरपालिकाले गर्ने बैठकमा निर्णय भएको छ’ उहाँले भन्नुभयो, ‘विरामीको आर्थिक अवस्था हेरेर उपचार समेत उपमहानगरपालिकाले गर्ने निर्णय भएको छ।’

यसैगरी बैठकले कोरोना लक्षण देखिएका तर होम क्वारेन्टाइनमा बसेका संक्रमितहरुलाई हेर्न वडाध्यक्षको संयोजकत्वमा अनुगमन समिति बनाइएको छ भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि सम्वन्धित वडालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।



SHARE THIS