कोरोना कहरका बीच यसरी हुँदै छ उद्योग वाणिज्य महासंघको चुनाव

ढकाल प्रधानबीच प्यानल भिडन्त हुँदै

काठमाडौं, कार्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा कोरोना कहरकै बीच हुन गइरहेको छ । गत चैतमै भइसक्नुपर्ने साधारणसभा कोरोना संक्रमण रोकथामका लागि सरकारले गराएको लकडाउनका कारण पटक पटक स्थगित हुँदै आएको थियो । सरकारको स्वीकृतिमा आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

अहिले पनि उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा महासंघले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै तीनवटा ‘भेन्यु’ मा साधारणसभा गर्न लागेको छ । त्यसका लागि महासंघले राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, कार्की ब्याङकेट, बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ, टेकुलाई छुट्टयाएको छ । ५४औं वार्षिक साधारणसभाको उद्घाटन भने वेबिनारमार्फत हुने महासंघले जनाएको छ ।

यो साधारणसभा चुनावीसभासमेत भएकाले चुनावी प्रयोजनका लागि तीन वटा ‘भेन्यु’ तोकिएको हो । महासंघको निर्वाचन समितिले मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुने गरी अर्थात् सामाजिक (भौतिक) दूरी कायम हुने, स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी मतदान गराइने जनाएको छ । सोहीअनुसार तीन फरक फरक ‘भेन्यु’ मा जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फको निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षसहित जिल्ला नगर, वस्तुगत र एसोसिएटका उपाध्यक्ष एवं ६० कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । निर्वाचित हुने ६० जना कार्यकारिणी सदस्यमध्ये प्रत्येक प्रदेशतर्फबाट एक एकजना गरी सदस्य सात, उद्योग वाणिज्य संघ तर्फबाट १८, वस्तुगत संघ तर्फबाट १४, एसोसिएटतर्फबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फबाट सदस्य एक, महासंघका संस्थापकहरु मध्येबाट एकजना हुनेछन् ।

ढकाल प्रधानबीच प्यानल भिडन्त

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष छन् । महासंघको आगामी अध्यक्ष हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुनेछन् । यसअघिको साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । 

त्यसअघि वर्तमान अध्यक्ष भवानी राणा पनि सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएकी थिइन् । वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र कार्यकारी समिति सदस्यबीच प्यानलसहित नै प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाइसकेका छन् । उनीहरुले प्यानलसहित नै मनोनयन दर्ता समेत गराइसकेका छन् । 

ढकाल प्यानल

ढकालको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई छन् । श्रेष्ठ वर्तमान कार्यसमितिमा पनि वस्तुगततर्फको उपाध्यक्ष हुन् । 

प्रधान प्यानल

यसैगरी प्रधानको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् । 

निर्वाचन तालिका यस्तो छ ?

उमेदवारहरुको मनोनयनपत्र दाखिला मंसिर ४ गते सांझ ५ बजेसम्म गरिसक्नुपर्नेछ । मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली मंसिर २ प्रकाशित हुनेछ भने मतदान गर्न पाउने सदस्यहरुको नामावली उपर दाबी विरोध ३ गते दिउँसो २ बजेसम्म गर्न पाइनेछ । मतदान गर्न पाउने सदस्यविरुद्ध परेको दाबी विरोध माथि छानबिन गरी संशोधित दोस्रो नामावली ३ गते साँझ ६ बजे प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले कोभिड १९ को परिस्थितिलाई मध्यनजर गर्दै उमेदवारको मनोनयनलगायत प्रतिनिधिपत्र दर्ता ९प्रतिनिधि शुल्क, सदस्यता शुल्कलगायत बैंक भौचर० इमेलमार्फत गर्ने कार्यलाई प्राथमिकता दिएको छ । इमेलबाट पठाइएका सबै कागजातको सक्कल मंसिर ४ गते साँझ ५ बजेभित्र महासंघको सचिवालयमा आइपुग्नुपर्नेछ, अन्यथा मनोनयन स्वतः बदर हुने निर्वाचन समितिले जनाएको छ ।

उमेदवारको पहिलो नामावली पनि सोही दिन प्रकाशन हुनेछ । सक्कल कागजात प्राप्त भएपछि सो प्रमाणहरुका आधारमा उमेदवारहरुको दोस्रो नामावली मंसिर ५ गते प्रकाशन गर्ने समितिले जनाएको छ । उमेदवारी मनोनयनपत्र माथिको दाबी विरोध सोही दिन दिउँसो २ बजेसम्म गर्न पाइनेछ भने उमेदवारहरुको तेस्रो नामावली ५ गते नै साँझ ६ बजे प्रकाशित गर्ने तालिका छ ।

मतदान गर्न पाउने प्रतिनिधिको नामावली प्रकाशन मंसिर ८ गते, मतदान गर्न पाउने प्रतिनिधि माथिको दाबी विरोध र छानबिन एवं निर्णय र अन्तिम नामावली प्रकाशन मंसिर ११ गते दिउँसो ३ बजे हुनेछ । निर्वाचन मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

निर्वाचन समितिका अनुसार मतदाता सूचीमा समावेश भएका तर नवीकरण नगरेका संघरसंस्थाले मंसिर ११ गते बिहान ९ बजेभित्र नवीकरण गर्नुपर्नेछ । सो समयसम्म पनि नवीकरण नगर्ने सदस्य संघरसंस्थाले मतदाता सूचीमा नाम भए पनि मतदानमा भाग लिन नपाउन समितिले स्पष्ट पारेको छ ।


SHARE THIS