‘बालबालिकालाई कोरोना लाग्दैन भन्ने सत्य होइन’


काठमाडौं, मंसिर ४ । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)द्वारा प्रकाशित ‘कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने प्रभाव रोकथाम’ प्रतिवेदन अनुसार महामारी लम्बिँदा बालबालिकामा पर्ने असर पनि वृद्वि हुनसक्नेछ ।

बालबालिका कोभिड–१९ बाट विरलै संक्रमित हुन्छन् भन्ने भ्रम महामारी अवधि भरि नै व्याप्त रहेको पाइएको छ, जुन सत्य होइन’ युनिसेफका कार्यकारी निर्देशक हेनेरिटा फोरले भनिन्, ‘बालबालिका कोरोनाबाट संक्रमित हुन तथा संक्रमण फैलाउन सक्छन्, र यो सुरूवाती अवस्था मात्रै हो ।’

आर्थिक अवस्था कमजोर भएकाहरूको हकमा यसको असर झनै बढ्न सक्ने युनिसेफको निश्कर्ष छ । ‘मुख्य सेवाहरूमा हुने अवरोध तथा बढ्दो गरिबी बालबालिकाको लागि सबै भन्दा ठुलो जोखिम हो’ कार्यकारी निर्देशक फोर भन्छिन्, ‘यो संकट जति लम्बिँदै जान्छ, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा सु–स्वास्थ्यमा पार्ने असर गहन हुँदै जान्छ । एउटा सिङ्गो पुस्ताकै भविष्य नै जोखिममा परेको छ ।’

प्रतिवेदनका अनुसार १८ कात्तिकसम्म वर्गीकृत तथ्यांक उपलब्ध रहेका ८७ देशमा कोभिड–१९ बाट २ करोड ५७ लाख मानिस संक्रमित भएका छन् । जसमध्ये ११ प्रतिशत अर्थात प्रत्येक ९ मध्ये १ जना बालबालिका वा २० वर्ष मुनिका किशोरकिशोरी छन् ।’

०७७ कात्तिकसम्मको अवस्था हेर्दा ३० वटा देशमा विद्यालय बन्द रहँदा ५७ करोड २० लाख बालबालिका प्रभावित रहेका छन् । युनिसेफको अध्ययनले आधारभूत सुरक्षाका उपायहरू अपनाएर विद्यालय सन्चालन गर्नुपर्ने फाइदा हुने देखाएको छ ।

बालबालिकाले एकअर्का वा आफूभन्दा ठूलो उमेर समूहमा भाइरस सार्न सक्ने भएता पनि विद्यालय बन्द राख्दा हुने क्षति भन्दा आधारभूत सुरक्षाका उपायहरू अपनाएर सञ्चालन गर्दा हुने फाइदा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

‘समुदायस्तरको संक्रमण विद्यालयबाट प्रमुख रूपमा सर्ने होइन र बालबालिकामा भाइरस सर्ने सम्भावना विद्यालयबाट भन्दा अन्यत्रबाट बढी हुन्छ’ प्रतिवेदनमा भनिएको छ । 


SHARE THIS