महाकवि देवकोटाको शालिक अनावरण

मोरङ, कार्तिक २९ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनर्निर्माण गरिएको शालिकको अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर ८ देवकोटा चोकमा देवकोटाको ११२औँ जन्मजयन्तीको उपलक्ष्यमा पुनर्निर्मित शालिकको आज संयुक्त रुपमा अनवरण गरे । महानगरपालिकाको १९ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको छ भने त्यसको वरिपरि स्ट्रिट लाइट राखिएको छ । 

नगर प्रमुख पराजुलीले प्रजातन्त्र पुनःस्थापनापछि विराटनगरबाट प्रधानमन्त्री भएका सबैको शालिक नगर क्षेत्रमा निर्माण गरिने जानकारी दिए । उनले प्रजातन्त्र स्थापनाका लागि देवकोटा पुस्तकालयको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै पुस्तकालय नियमित सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्राज्ञ विवश पोखरेल, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले महाकवि देवकोटाले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे ।

देवकोटा चोकमा २०४२ सालमा महाकवि देवकोटाको शालिक स्थापना गरेपछि सो चोकको नाम देवकोटा चोक रहन गएको हो । पुस्तकालयका अध्यक्ष सुवोध निरौला, निर्माण उपभोक्ता समिति अध्यक्ष वसन्तराज अर्याल  र नारायणबाबु कार्कीलगायतले देवकोटाको जीवनी र पुस्तकालयले अहिलेसम्म गरेको कामबारे जानकारी दिएका थिए ।(रासस


SHARE THIS