बोक्सी भन्दै गाली गलौज गरेको आरोपमा दुई महिलासहित ३ जना पक्राउ

दाङ, कार्तिक २५ । दाङमा बोक्सी भन्दै गाली गलौज गरेको आरोपमा घोराही र तुलसीपुरबाट दुई महिलासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ की बर्ष २८ की दिपा बाठाँ मगर र बर्ष ४५ की नौमती महरा रहेको प्रहरीले जनाएको छ। उनीहरुले यहि कार्तिक २१ गते धामी झाक्रीको भेषमा काम्दै सोही ठाउँकी दुई महिलाको घरमा गई बोक्सी भन्दै गाली गलौज गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत सुमित खड्का अनुसार पीडित महिलाले बोक्सी भन्दै गाली गलौज गरी ईज्यत मान प्रतिष्ठामा आँच पुर्‍याएको भनि जाहेरी  दिएका छन् । पक्राउ परेका दुई महिला माथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

यस्तै यहि कार्तिक १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीया एक महिलालाई बोक्सी भन्दै गाली गलौज गरेको आरोमा सोही वडा स्थित संगितनगर टोल बस्ने देब बहादुर परियार पक्राउ परेका छन् । पीडित महिलाले दिएको जाहेरीमा देब बहादुरले हातपात समेत गरेको उल्लेख गरिएको प्रवक्ता खड्काले बताउनुभयो । उनी माथि पनि आवश्यक अनुसन्धान कार्य भईरहेको खड्को भनाई छ।


SHARE THIS