प्रचण्डलाई ईश्वर पोखरेलको प्रश्न– प्रस्ताव फिर्ता लिने कि दुर्भाग्य निम्त्याउने ?

काठमाडौं, कार्तिक २९ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै उनीपक्षीय नेताहरू रुष्ट बनेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डलाई राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । “प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगिन आरोपहरू लगाउनुभएको छ । प्रस्तावका रूपमा प्रस्तुत यी संगिन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन्,” उनको निष्कर्ष छ । 

सहमतिका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरीत ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएको उनले बताएका छन् । दुराग्रहका साथ प्रस्तुत ती प्रस्तावहरू फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने कार्यकर्ताको हातमा रहेको उनले बताएका छन् । सामाजिक सञ्जालमा व्यक्त धारणाको अन्तिममा उनले भनेका छन्, “प्रचण्ड कमरेडले मात्र होइन नेकपाभित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ ।”


SHARE THIS