चितवन मेडिकल कलेजमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु


चितवन, कार्तिक १७ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना चितवनका छन भने एकजना नवलपुरका छन् ।

अस्पतालले दिएको जानकारीअनुसार संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष छन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको कात्तिक १३ गते कोरोना पुष्टि भएको थियो । मधुमेहको समेत समस्या भएका उनको उपचारको क्रममा आइतबार राति ९:१९ मा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् । कात्तिक १३ गते कोभिड पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए । निमोनियाँ र मधुमेहलगायत रोगबाट ग्रसित उनको आइतबार राति ९स्४३ मा मृत्यु भएको डा.अधिकारीले जानकारी दिए ।

यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डा. अधिकारीका अनुसार कात्तिक १३ गते अस्पताल भर्ना भएका उनको १४ गते कोरोना पोजेटिभ पुष्‍टि भएको थियो । श्वासप्रश्वासको समस्या भएर अस्पतालमा भर्ना भएका उनको आइतबार राति ११:२६ मा मृत्यु भएको अधिकारीले बताए । तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि आज बिहान मात्रै भरतपुर अस्पतालमा एकजना धादिङ र एकजना चितवनका गरी दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


SHARE THIS