‘यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने प्रवृत्ति बढ्यो’


काठमाडौं, कार्तिक २८ । यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने प्रवृत्तिले हिंसा न्यूनीकरणमा बाधा पुगेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले बताएकी छन् ।

यौंन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तर्क्रियामा मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले हिंसालाई प्रोत्साहन गरिरहेको बताइन् । खासगरी बलात्कारजस्ता अपराधमा पनि समाज भित्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ । यौंन हिंसासम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानुनमै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । 

मेलमिलाप गराउने वा गर्न उत्साहित गर्ने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको उनको भनाइ थियो । स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नु हुँदैन भन्ने जानकारी भएको तर यस्ता घटनाहरु न्यायिक समितिमा आउनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको उनले बताइन् ।

समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नु हुँदैन भन्ने सन्देश सञ्चारमाध्यमबाट दिन सके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । कडा प्रकृतिका सजाय दिने व्यवस्था कानुनमा गर्दैमा घटना कम हुन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्नेमा उनको भनाइ छ । यस्तै पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भए पनि संविधानमा भएको व्यवस्थाअनुरुप नेपालमा कुनै पनि घटनामा मृत्युदण्ड दिने कानुन निर्माण गर्न नमिल्ने स्पष्ट पारिन् । 


SHARE THIS