अध्यक्ष राणा भन्छिन् : वरिष्ठ उपाध्यक्षका उमेदवार प्रधान र ढकाललाई मिलाउने प्रयास जारी छ

 काठमाडौं, मंसिर ३ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उमेदवार किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् ।

दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकाले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताइन् । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् । 

आफूले एकपटक फेरि दुवै उमेदवारलाई एक ठाउँमा राखेर कुरा गर्नेसमेत बताइन् । ‘‘अध्यक्षका रुपमा मैले दुवै जनालाई एउटा सशक्त उमेदवारका रुपमा देख्छु । दुईजना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ,’’ उनले भनिन्, ‘‘अब निर्वाचनको समय पनि आयो । तिहार सकिएको अवस्था छ । छठपछि एकचोटि दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेकी छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नु पनि पर्छ ।’’

महासंघको हितका लागि भए पनि दुवैजनाले त्याग गर्नसक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाको भनाइ छ । उनले भनिन्, ‘‘दुवै जनालाई एकपछि अर्को गरेर मिल्न आउनुस् भनेर आह्‍वान पनि गरेकी छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितका लागि त्याग गर्न सक्नुपर्‍यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नका लागि मेरो फेरि एकचोटि अन्तिम प्रयास रहनेछ ।’’

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालले आ(आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड(१९ का कारण स्थगित भएको थियो । पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड(१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण हुन सकेको थिएन ।


SHARE THIS