‘वामदेव ओली कित्तामा जानुहुन्‍न’

काठमाडौं, कार्तिक २७ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार वामदेव गौतमविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिनुनपर्ने फैसला गरेर मन्त्री बन्ने बाटो खोलिदियो ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षतिर अभिमुख भएका वेला अदालतको यस्तो आदेश आएपछि अहिले विभिन्न अड्कलहरू भइरहेका छन् । कतिपयले वैशाख १७ गते र साउन १३ गतेजस्तै उपाध्यक्ष वामदेव गौतमले ओलीलाई साथ दिने हुन् कि भन्ने आशङ्का पनि छ । ९ सदस्यीय सचिवालयमा वामदेव निर्णाय छन् । उनी जता उभिन्छन्, उतै बहुमत पुग्ने अवस्था छ ।

अदालतले मन्त्री बन्न बाटो फुकाउँदै वामदेवकै पक्षमा फैसला गरे पनि यसपटक ओली कित्तामा जाने सम्भावना नरहेको उनी पक्षका नेताहरू बताउँछन् । यसपटक अघिल्लोपटकको जस्तो गल्ती नदोहोर्‍याउने उनकै भाषामा भन्दा अग्रगमनकै पक्षमा उभिने उनीनिकटस्थहरू बताउँछन् ।

“हिजोको अदालतको निर्णयले कुनै पनि असर गर्दैन । उहाँ अघि नलागी अग्रगति र अग्रगमनको आन्दोलन अघि पनि बढ्दैन । उहाँको सक्रिय सहभागिता रहनेछ,” वामदेवनिकट केन्द्रीय सदस्य बलराम बास्कोटाले भने, “वामदेव आफ्नो अडानमा हुनुहुन्छ ।”

यसअघि दुईपटक धोका दिएकाले वामदेव अडिनेरनअडिनेमा गठबन्धनभित्रै आशङ्का थियो । राष्ट्रियसभा सदस्य बनाउन गठबन्धनले दर्बिलो साथ दिएका बेला खुट्टा नटेकेको भन्दै आलोचना पनि बेहोरेका थिए । जति साथ दिँदा पनि ओलीले मौका पर्नासाथ आफ्नो प्रवृत्ति दोहोर्‍याएकाले यसपटक वामदेव चिढिएको उनी निकटस्थहरूको बुझाइ छ ।

तर, हिजोको फैसलापछि ओली पक्षधरहरू उत्साहित देखिन्छन् ।

“मन्त्रिपरिषद्‌ले गरेको राजनीतिक निर्णयमा अदालत निरपेक्ष बस्नु नै उचित हुन्थ्यो । ढिलै भए पनि सर्वोच्च अदालतले आफ्नो कमजोरी सच्याएको छ । राजनीतिक आन्दोलनमा खेलेको विशिष्ट योगदान र हासिल गरेको अनुभव पनि विज्ञता नै हो । यस प्रश्नमा अनावश्यक विवाद सिर्जना गर्न खोजिएको थियो । बधाइ छ कमरेड वामदेव गौतमलाई,” ओलीनिकट स्थायी कमिटी सदस्य तथा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्‍कर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।


SHARE THIS