काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष, विमानस्थलमा सर्वसाधारणलाई समेत रोकियो

काठमाडौं, कार्तिक १९ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे सेनाको विशेष विमान चढेर नेपाल आइपुगेका छन् । उनले केहीबेरअघि नेपाल आएका हुन् । उनी चढेको विशेष विमान अवतरण गर्ने बेलामा सर्वसाधारणलाई समेत विमानस्थल प्रवेशमा रोक लगाइएको थियो । पत्नीसहित चार सदस्यीय टोलीको नेतृत्व गरेर सेनाध्यक्ष नरवणे समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा औपचारिक भ्रमणमा आएका हुन् ।

उनको आज काठमाडौंमा कुनै औपचारिक कार्यक्रम छैन । काठमाडौं आउने पूर्वसन्धामा सेनाध्यक्ष नरवणेले एक भिडियो सन्देश दिँदै ‘भ्रमणलाई लिएर आफू निकै उत्साहित भएको’ बताएका थिए । भोलि सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ भने भद्रकालीस्थित जंगी अड्डामा नेपाली सेनाले उनलाई सम्मान गर्नेछ ।

समकक्षी प्रधान सेनापति थापासँग आधाघण्टा दुईपक्षीय हित, पारस्परिक सहयोग तथा सम्बन्ध सुधारबारे छलफल हुनेछ ।  भोलि नै भारतीय र नेपाली सेनाबीचको परम्पराअनुसार सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । 

त्यसपछि राष्ट्रपतिसँग संक्षिप्त शिष्टाचार भेटको कार्यक्रम छ। 

प्रधानसेनापति थापाले भोलि बेलुका उनको लागि रात्रिभोजको आयोजना गरेका छन् । भ्रमणको अन्तिम दिन शुक्रबार वर्तमान सन्दर्भमा सैनिक नेतृत्वको चुनौतीबारे मेजरहरूलाई स्टाफ कलेजमा प्रवचन दिई आफ्नो सीप र अनुभव बाँड्नेछन् । शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी स्वेदश फिर्ता हुने कार्यक्रम तय भएको छ ।


SHARE THIS