कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

 

दाङ, असोज २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो ।

यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले आज दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री शाहीले कुर्मराजलाई दिए सचेतकको जिम्मेवारी 

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गरेका हुन् ।

यसअघि आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका थिए ।


SHARE THIS