घोराहीका विद्यालय आजदेखि सञ्चालनमा आउँदै

 

घोराही, १६ कार्तिक । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बन्द भएका घोराहीका विद्यालयहरु आजदेखि सञ्चालनमा आउने भएका छन् । उपमहानगरपालिकाले असोज २५ गतेदेखि कार्तिकको १५ गतेसम्मलाई पालिका भित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।  

शिक्षा समितिको पहिलेकै निर्णय अनुसार कार्तिक १६ गते आइतवारदेखि पालिका भित्रका सम्पूर्ण विद्यालयहरु सञ्चालनमा आउने घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभएको छ ।

सम्पूर्ण विद्यालयहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयहरु सञ्चालन गर्न सक्ने समेत उहाँले बताउनुभयो । यस्तै बबई गाउँपालिकाले पनि भोलीदेखि नै शिक्षण सिकाईका क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यार्थी, शिक्षक र अभिभावकको माग र चाहना अनुसार लामो समयदेखि बन्द रहेको शिक्षण सिकाईको कार्यलाई पुन सञ्चालन गर्ने निर्णय गरेको बबई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मोहन दाहालले जानकारी दिनुभएको छ ।

त्यसैगरी अन्य पालिकाहरुमा पनि विद्यालय सञ्चालनको तयारी गरिएको छ । 

यस्तै उता

तुलसीपुर उपमहानगरपालिकाले पनि सिकाई केन्द्र मार्फत विद्यार्थी सिकाई सहजीकरणका क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेको छ ।

विद्यालय संचालनको पूर्व सन्ध्यामा तुलसीपुर उपमहागनरपालिकाले एक प्रेस विज्ञप्ती जारी गरेर संस्थागत तथा सामुदायिक विद्यालयहरुले बनाएको सिकाई सहजीकरण कार्य योजना अनुरुप सिकाईलाई निरन्तरता दिन आग्रह गरेको हो । 

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर राज गौतमद्धारा जारी विज्ञप्तीमा सिकाईका क्रममा सवारी साधन संचालनमा ल्याएको बुझीएकाले त्यस्तो कार्य नगर्न समेत अनुरोध गरिएको छ । 

कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयले सिकाई सहजीकरण कार्य योजना बनाएका छन । 

सिकाई कार्ययोजनामा स्वास्थ्यको सबै मापदण्ड पुरा गर्नुपर्ने, सेनीटाइजर राख्नुपर्ने, विद्यार्थीलाई सवारी साधनमा ओसार पसार गर्न नपाईने, एउटा कक्षामा २० जनाभन्दा बढी विद्यार्थी राख्न नपाईने, धेरै विद्यार्थी भएको क्षेत्रमा गएर शिक्षकले खुल्ला पढाउनु पर्ने व्यवस्था छ ।



SHARE THIS