राजकुमार चेपाङलाई मारेको अभियोग लागेका सैनिक जवान थुनामा


राजकुमार चेपाङ

चितवन, असोज २८ । चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङलाई कुटपिट गरेर मारेको अभियोग लागेका एक सैनिक जवानलाई जिल्ला अदालतले पुर्पक्षमा लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार नेपाली सेनाका जवान चिरणकुमार बुढालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

राजकुमारसहित पाँच जना गत साउन १ गते घोंगी खोज्नका लागि चितवन राष्ट्रिय निकुञ्ज भित्र पुग्दा सेनाले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए । कुटपिटको ८ दिनपछि राजकुमारको मृत्यु भएको थियो ।

साउन ११ गते पीडितका बुबा विष्णुलाल चेपाङले छोरा राजकुमारको सेनाको कुटाईबाट मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरीमा उजुरी दिएका थिए । पछि भदौ २५ गते उनले छोरालाई कुटपिट गर्ने व्यक्ति चिरणकुमार बुढा नै भएको भन्दैं प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । बर्दियाको गेरुवा–५ का बुढालाई गत असोज ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

चेपाङको मृत्युका विषयमा थप प्रमाणहरु जुटाउँदै अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत चितवनका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए । उनलाई जन्मकैद दाबी गर्दै मुद्दा दायर भएको छ ।

राजकुमारको पोष्टमार्टम रिपोर्टमा भने मृत्युको कारण ‘अनडिटरमाइण्ड’ उल्लेख गरिएको छ ।


SHARE THIS